साहित्य

मनिषाको जस्तो अनुहारले मैले सिनेमा पाएँ : दिव्या दत्त

मनिषाको जस्तो अनुहारले मैले सिनेमा पाएँ : दिव्या दत्त

मेरो अनुहार मनिषाको जस्तो देखिन्थ्यो भन्थे मानिसहरू। मनिषाजस्तो देखिने केटी कहाँ छे भनेर मेरो खोजी हुन थाल्यो। त्यहीँ भएर मैले ‘अग्निसाक्षी’ सिनेमा पाएँ।

  • कुरौटेपाटी

  • शुक्रबार, भदौ १५, २०८०

  • 36
    SHARES
मनिषाको जस्तो अनुहारले मैले सिनेमा पाएँ : दिव्या दत्त
काठमाडौं कलिंग साहित्य महोत्सवमा आफ्नो धारणा राख्दै दिव्या दत्त

कुरौटेपाटी । बलिउड अभिनेत्री दिव्या दत्तले करिब तीन दशकको करियरमा भाग मिल्खा भाग ’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’लगायत थुप्रै सफल सिनेमामा अभिनय गरेकी छन्। उनका दुई संस्मरण पनि प्रकाशित छन्। नेपाली सिनेमा ‘वसन्ती’ र ‘माया नमार’ मा समेत उनले अभिनय गरेकी थिइन्। काठमाडौंमा आयोजित कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणको पहिलो दिन शुक्रबार लेखक सुमित शर्मासँगको ‘दिव्या दत्तको सिनेमा यात्रा’ सत्रमा दिव्याले आफ्नो अभिनय यात्रालाई फर्किएर हेरेकी थिइन् । दिव्याले सुनाएको संस्मरणका सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ। :

म चार वर्षको कलिलो उमेरमा नै अमिताभ बच्चनसँग निकै प्रभावित भएकी थिएँ। मजस्तै धेरै उनको जस्तै सिनेमाको संसारमा जान चाहन्थेँ। त्यो सम्झना अझै ताजा छ। त्यतिखेरै मलाई पहिलो पटक म बच्चनको संसारमा हुन चाहन्छु भन्ने लागेको थियो, यो भनेको के हो थाहा नपाउँदै। सायद मनले बाटो देखाउँछ भनेको यही होला।

मेरो आमाबुबा चिकित्सक हुनुहुन्थ्यो। म पनि डाक्टर हुन चाहन्थेँ। मेरो पढाइ निकै राम्रो थियो। त्यो बेलाको समाजमा राम्रो नम्बर ल्याउनेले विज्ञान पढ्नुपर्छ भन्ने धारणा थियो। अलिक कम नम्बर ल्याउनेले कमर्श र नम्बरै नल्याउनेले मात्र आर्टस् पढ्थे।

मेरो निकै राम्रो नम्बर आयो तैपनि मलाई अंग्रेजी साहित्य, मनोविज्ञान, दर्शन पढ्न मन थियो। मलाई त्यतिबेला म कहिले, कसरी अभिनयमा आउने भन्ने नै ध्याउन्न थियो। मेरो घरमा फिल्म म्यागजिन आउँथ्यो । त्यसकै सूचनाका आधारमा मैले ‘ट्यालेन्ट हन्ट’ को फर्म भरेकी थिएँ।

मसँग फोटो थिएन त्यतिबेला। मैले मेरो भाइलाई व्यावसायिक फोटोग्राफरले जसरी ग्ल्यामरस फोटो खिच्न लगाएँ। त्यतिबेला साइकलसँगै र छतमा उभिएको फोटो भाइले खिचिदियो। त्यो फोटो मैले पठाएँ। मलाई के हुन्छ भन्ने थाहा थिएन। यसले मलाई भने खुसी बनाएको थियो। तर सोच्दै नसोचेको कुरा भयो। म त्यस प्रतिस्पर्धाका लागि छनोट भएँ। अनि मैले आमालाई अभिनयप्रतिको  झुकावलाई बताउनै पर्ने भयो।

 

म भर्खंर १८ वर्ष टेकेकी थिएँ। भाइ र म आमालाई अभिनयमा जाने निर्णय सुनाउन गयौँ। उहाँ त्यस दिन क्लिनिकमा हुनुहुन्थ्यो। डरले गर्दा भाइ र म एकअर्काको हात जोडले समाएर उभिएका थियौं। मैले सहजै भनेँ, ‘म एक्टिङ प्रतिस्पर्धामा छनोट भएँ। म एक्टर बन्न चाहन्छु आमा।’ मेरो यो कुरा सुनेर आमा चुपचाप बस्नु भयो। चारैतिर मौनता छायो। हामी दादी भाइको होस उड्यो। जमिन भासिएर भुँइमा छिरेको जस्तो भयो।

एकछिनको मौनतापछि उहाँले ‘म तिम्रो साथमा छु’ भन्नुभयो । तर पहिले पढाइ सिध्याऊ, अभिनय पनि सँगै लैगाऊ। त्यस दिन आमाले मेरो सपनाको विश्वास गर्नु भयो, यसले मलाई अगाडि बढ्नका लागि निकै ठूलो साहस दियो।

मेरो प्रारम्भिक यात्रा यहीँबाट सुरु भयो। मैले त्यो प्रतिस्पर्धामा राम्रो गरेँ। त्यसले मेरो जीवनलाई नै नयाँ मोड दियो। मेरो भेट त्यो बेलाका ठूलाठूला स्टारहरूसँग भयो, जसमध्ये मलाई अहिले सम्झना भएको पहिलो व्यक्ति थिइन्— मनिषा कोइराला। उनीसँगको सम्बन्ध अद्यापि जारी छ। मेरो अनुहार मनिषाको जस्तो देखिन्थ्यो भन्थे मानिसहरू। मनिषाजस्तो देखिने केटी कहाँ छे भनेर मेरो खोजी हुन थाल्यो। त्यहीँ भएर मैले ‘अग्निसाक्षी’ सिनेमा पाएँ। यसले मेरो प्रारम्भिक यात्रालाई अर्को चरणमा पुर्यायो। तर मलाई मनिषाको छाया हुनु थिएन। केही गम्भीर काम गर्न मन थियो। यस्तो सोचिरहेको बेला मलाई ‘ट्रेन टु पाकिस्तान’ खेल्ने मौका मिल्यो।

मलाई लाग्छ, साहसले नै मार्ग पहिल्याउन डोहोर्याउँछ। मेरो मनले सधैँ भन्थ्यो, यो नै मैले हिँड्न चाहेको बाटो हो। तर मैले रोजेको पेशा सहज थिएन। एक्टरको जीवनमा भोलिले के लिएर आउँछ भन्ने थाहै हुँदैन। मेरो कोही ‘गड फादर’ थिएन, म निर्माताको सन्तान पनि थिइनँ। मलाई ४–५ वर्ष बलिउडमा सिनेमा कसरी पाइन्छ भनेर जान्नै लाग्यो। सही फिल्म कसरी लिने भनेर त थाहा पाउन अझै धेरै समय लाग्यो।

मेरो सिने यात्रालाई अर्को चरणमा पुर्याइदिने सिनेमा थियो— ‘वीरजारा’। मेरो सपना थियो यस चोपडाको हिरोइन बन्ने। उहाँले ‘वीरजारा’ फिल्म बनाउने घोषणा गरेपछि मलाई फोन आयो। आदित्य र यस चोपडा दुवैले मलाई यसको कथा सुनाए। यो सिनेमामा अमिताभ बच्चन, साहरुख खान, हेमा मालिनी, प्रीति जिन्टा, रानी मुर्खजी, मनोज बाजपेय सबै एक सय एक कलाकार थिए। मलाई हिरोइनको साथीको रोल दिइयो। यसमा मैले गरेर देखाउने धेरै त्यस्तो ठाउँ थिएन।

मलाई प्रायः हिरोइनको साथीको रोल दिइन्थ्यो। मेरो इमेज नै हिरोइनको साथीको जस्तो भएको थियो। मैले यो अफरबारे आमालाई सुनाएँ। उहाँले भन्नुभयो, ‘तिमीले म राम्रो एक्टर हुँ भनेर कसरी उनीहरुलाई बताउछौरु यदि तिमीले पाएको रोल पनि लिएनौ भने घरमै यसै बस्नुबाहेक विकल्प छैन, जाऊँ आपूmलाई प्रमाणित गर।’
तिमी यसरी अभिनय गर कि मानिसले तिम्रो बारे लेख्छन्। मैले पनि मनदेखि नै अभिनय गरे। वास्तवमै यो भयो पनि। ‘वीरजारा’ रिलिज भएपछि मेरोबारे लेखियो। म एकाएक स्टार भएँ। आफूसँग भएको अवसरको अधिकतम उपयोग गर्न सक्नु जीवनको सबैभन्दा सुन्दर कुरा हो।

यसपछि मलाई ठूला ब्रान्डका फिल्मको अफर आउन थाल्यो। तर मैले कुनै पनि स्वीकार गरिनँ। आमाले यति राम्रो फिल्म मिलिरहेको छ, किन तिमीले नखेलेको भनेर सम्झाउनु भयो। यदि म आफ्नो रोललाई लिएर झ्याउ मानिरहेको छु भने दर्शकलाई पनि यहीँ लाग्नेछ। मभित्र उत्साह र आगो छ भने मेरो दर्शकलाई पनि त्यसले छुनेछ। उनीहरूमा पनि त्यो भावना पुग्नेछ। त्यसको एक वर्षपछि मलाई दिल्ली ६ को अफर आयो।

हिरोइनको साथीको छवि परिवर्तन गर्ने मौका थियो यो मेरो लागि। त्यसपछि मैले ‘भाग मिल्का भाग’ गरेँ, ‘बदलापुर’ गरेँ । यसरी मैले आफूलाई फरकफरक भूमिका निर्वाह गर्न सक्ने अभिनेत्रीको रुपमा परिचय बनाएँ। नयाँ नयाँ पात्रको भूमिका गर्दै गएँ। आफूलाई बाहिर राखेर पात्रभित्र प्रवेश गर्नु, उनीहरूको जीवन भोगाइलाई स्पर्श गर्न पाउनु मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो। यस अर्थमा म निकै भाग्यमानी छु।

पछि म लेखक पनि भएँ। पहिलो पुस्तक ‘मि एन्ड माँ’ मा मैले आमासँगको मेरो सम्बन्धलाई उतारेकी छु। एकदिन चन्डीगढको विमानस्थलमा मलाई एकजना महिलाले बोलाइन । मैले सायद फिल्मको बारेमा कुरा गर्न होला भन्ने ठानेको थिएँ। तर उनले भनिन्, ‘तपाईंको आमासँगको सम्बन्धको किताब पढेँ, त्यसले मलाई आमालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्यायो। आमालाई मैले कति ‘टेकन फर ग्रान्टेट’ लिएको रहेछु । किताब पढेपछि मैले आमालाई ‘अइ लभ यू’ भनेँ, धन्यवाद दिव्या।’

मेरो माध्यम बदलिएको थियो। तर मुख्य कुरा पाठकलाई ‘कनेक्ट’ गर्न सक्नुपर्छ र मलाई लाग्छ मैले पूरै मनले यसका लागि प्रयत्न गरेको छु।
मैले कुनै पत्रिकामा कोलम लेख्न थालेको थिएँ। पछि त्यो पत्रिका र पाठकले मन पराइदिए। सुटिङमा व्यस्त भएर लेख्न छोड्दा पनि मेरो खोजी हुन थाल्यो।

सात वर्षको हुँदा मैले बुबा गुमाएकी थिएँ। आमा एक्लैले म र भाइलाई हुर्काउनुभयो। म कतै पुगेपछि, आमाको यात्रालाई पनि समेटनुपर्छ भन्ने लाग्यो। मेरो सबैभन्दा मिल्ने साथी हुन् आमा। मेरो गल्ती, कमजोरी सबै मैले आमाको अगाडि निर्धक्कसँग भन्ने गर्छु, र उहाँले कहिले पनि मलाई ‘जज’ गर्नुभएन।

पाठकहरुले यो किताबलाई मन पराइदिनुभयो। धेरैले मलाई अर्को किताब कहिले आउँछ भनेर सोध्ने थाले। अनि लाग्यो, धन्न म एउटै मात्र किताबको लेखक भइनँ। आमापछि मेरो अर्को प्रिय कुनै चिज थियो भने त्यो हो मेरो काम। र ती मानिसहरु, जसले मेरो काम, यात्रालाई सुन्दर बनाइदिए। ‘द स्टार्स इन माइ स्काइ’ तीनै प्रियजनका लागि मेरोतर्फबाट उपहार हो । मैले मेरो यात्राको दौरान, जुन काम जतिखेर गर्नुपर्ने थियो, त्यो पूरै मनले गरेँ। यसले मलाई चाहिएकै बेलामा चाहिएकै जस्तो खुसी दियो । यदि सोच सही छ भने आफूले चाहेको ढिलो चाँडो मिल्छ नै।

प्रविधिको बदलिँदो समयमा पनि भावना भावना हुन्छ, मुटुको भाषालाई प्रविधिले रोक्न सक्दैन। आँखाले बोल्ने भाका उही हुन्छ। तर त्यो मन जुन छ, त्यो मनै रहन्छ, प्रविधिले त्यसलाई परिवर्तन गर्न सक्दैन। प्रविधिको विस्तारसँगै माध्यम परिवर्तन हुँदैछ समयलाई समाउन म ओटीटीमा पनि उपस्थित छु। केही महिनामै मनिषा कोइरालासँगै मेरो चलचित्र पनि आउँदैछ। र, यो मेरो उनीसँगको चौथो चलचित्र हो।

कहिलेकाहीँ म आफूलाई ऐनामा हेर्दै भन्ने गर्छु– तँ फेरि पनि समयसँगै उभिएकी छेस् र केही फरक गर्न खोजिरहेकी छेस्। यो मेरा लागि निकै महत्वपूर्ण छ, किनभने मेरो उत्साहको कारण नै मेरो यात्रा सम्भव भएको हो। अनि त्यो उत्साह नै म दर्शकसम्म पु¥याउन प्रयास गरिरहेको हुन्छु, सधैँ। म हतारमा हुन्छु तर मलाई म खुसी हुनुपर्छ भन्ने लाग्छ र मेरो दर्शक पनि।

एउटा कलाकारका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो धैर्य, लगाव र निरन्तरता। यो तीनै चिज भएपछि मात्र कलाकारितामा टिकिरहन सकिन्छ। किनभने यो क्षेत्र निकै अनिश्चत छ। भोलि के हुन्छ, कसैलाई थाहा हुन्न। सायद भोलि केही पनि नहुन पनि सक्छ। तर आफ्नो मनलाई जे कुराले खुसी बनाउँछ, त्यो काम भने गर्न छाड्नुहुन्न।


सम्बन्धित समाचार
       © 2022 - 2023 to Kurautepati ,  All Rights Reserved.  Crafted by Bitcraft Technology